टोकियो । जापानमा रहेका थारू समुदायले महिलाको मुख्य चाड जितिया पर्व को अवसरमा भोलि (सेप्टेम्बर १४) विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन्।
थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा हुने कार्यक्रममा थारू कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको अध्यक्ष काशी चौधरीले जानकारी दिए। कार्यक्रम संयोजक अञ्जनी चौधरीका अनुसार जापानको राजधानी टोकियोस्थित सोलमारी रेष्टुरेन्टको मुरा हल, सिनाकोबोमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
सांस्कृतिक संयोजक रिशब चौधरीले कार्यक्रममा पूर्वी नेपालको धुम्रा नाच, चितवनको झमटा नाच, ठेकरा नाच, सखियाँ नाचलगायत थारू समुदायका विविध सांस्कृतिक प्रस्तुति देखाइने बताए। साथै, कार्यक्रममा सहभागीहरूले थारू परिकारहरूको स्वाद समेत चाख्न पाउने छन्। यसका लागि विभिन्न स्टलहरू निर्माण गरिएको छ।
कार्यक्रमलाई भव्य बनाउन ९ सदस्यीय समिति गठन गरिएको र तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्।



