देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेकाले मौसममा व्यापक प्रभाव देखिएको हो।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराईमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।

विभागका अनुसार हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।–00—

Share:

सम्बन्धित समाचारहरु