कालिका, २ जेठ । दुग्ध उत्पादनमा कालिका नगरपालिकाले प्रतिलिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम प्रभावकारी देखिएको छ । दुग्ध उत्पादक सहकारी संस्थाहरुमा नगरपालिकाले गरेको अनुगमनको क्रममा सहकारीसँग आवद्ध किसानले दुग्ध उत्पादनमा पालिकाले दिएको अनुदान प्रभावकारी भएको बताएका छन् ।
१ रुपैयाँ अनुदानले पनि दुग्ध उत्पादनमा ठूलो राहत मिलेको किसानहरुको भनाई छ । नगरपालिकाले दुग्द्य उत्पादक सहकारी संस्थाको अवस्था र पालिकाले दिएका उपकरणहरुको अवस्था बारे नगर क्षेत्रका दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक तथा नगर उप प्रमुख विमला तामाङको नेतृत्वमा अगुमनमा गएको टोलीले नगरक्षेत्रभित्रका सातवटा दुग्ध उत्पादक सहकारी संस्थाको अनुगमन गरेको हो । दुग्ध उत्पादनमा नगरपालिकाले दिएको अनुदान रकमबारे सहकारीमा आवद्ध किसानहरुसँग प्रतिकृया लिएका थिए ।
गत आर्थिक वर्षदेखि कालिका नगरपालिकाले दुग्द्य उत्पादनमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिन थालेको हो । पालिकाले अनुदानका लागि ३५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो ।
यस्तै सहकारीहरुको अहिलेको अवस्था, दुग्ध संकलनको अवस्था, सरसफाई, दुग्ध उत्पादनगर्ने किसानहरुको संख्या र उनीहरुको गुनासो लगायतका विषयलाई आधार मानेर अनुगन गरिएको अनुगमनटोलीका सदस्य एवम् कालिकाका पशुसेवा शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।
नगरपालिकाले दुग्ध सहकारीलाई आवश्यकताका आधारमा दुग्ध चिस्यानसँगै परीक्षणका लागि आवश्यक उपकरण उपलव्ध गराएको छ । नगरक्षेत्रभित्रका दुईवटा सहकारीलाई दुग्ध संकलनका लागि ई रिक्सा समेत उपलब्ध गराएको छ । यो पटक नगरक्षेत्रभित्रका सबैजसो दुग्ध उत्पादक सहकारी संस्थाहरुले सरसफाईलाई विशेष ध्यान दिएको पाइएको नगर उपप्रमुख एवम् अनुमगन समिति संयोजक विमला तमाङले जानकारी दिनुभयो ।
अघिल्लो पटक अनुगमनमा देखिएका कमजोरीहरु यो पटक सबैले सुधार गरेका भेट्यौं उहाँले भन्नुभयो -‘यो पटक दुग्ध उत्पादनगर्ने किसानहरुमा पनि उत्साह भेटेका छौं ।’
कालिकाले दुग्ध उत्पादनगर्ने किसानलाई माग र आवश्यकताका आधारमा घाँस काट्ने मेसिन, दाना बनाउने मेसिन समेत उपलव्ध गराउँदै आएको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले जानकारीदिनुभयो ।
कालिकामा अहिले दुग्ध उत्पादनगर्ने झण्डै तीनहजार किसानहरु छन् ।
अनुगमनमा आर्थिक विकास समितिका संयोजक दिपक सिंह परियार ,वडा नंं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, र कार्यपालिका सदस्यसँगै पालिकाका कर्मचारीहरु सहभागि थिए ।









—-000—-


