जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु

चितवन, २१ असार । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा एक महिला र उनका बालक छोराको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजे जंगली हात्ती पूर्ण बोटेको घरमा प्रवेश गरी सुतिरहेका उनकी श्रीमती अन्दाजी २५ वर्षीया आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि हात्ती धपाउने प्रयासका क्रममा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो। आगलागीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीले घटनासम्बन्धी कानुनी प्रक्रिया तथा मुचुल्का तयार गर्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ। घटनाबारे चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले पछिल्लो समय बस्ती क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएको भन्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Share:

सम्बन्धित समाचारहरु