चितवन, १६ असार। चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार (असार १७) देखि जिप सफारी सेवा बन्द हुने भएको छ। वर्षायाम सुरु भएसँगै वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजनन समयलाई ध्यानमा राख्दै निकुञ्जले सफारी अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसाराका अनुसार जिप सफारी असार १७ गतेदेखि असोजको पहिलो सातासम्म बन्द रहनेछ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा निकुञ्जभित्रका कच्ची वनमार्ग बिग्रने, साना खोला–खोल्सीमा बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा पर्यटकको सुरक्षामा चुनौती थपिने भएकाले जिप सफारी स्थगित गरिएको हो। साथै, वर्षायाम वन्यजन्तु र चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक हस्तक्षेप कम गर्न पनि यो निर्णय गरिएको उहाँले बताउनुभयो।
यद्यपि, निकुञ्जभित्रको जिप सफारी बन्द रहे पनि निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप सफारी सञ्चालन हुने जनाइएको छ। यस अवधिमा निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले मध्यवर्ती क्षेत्रका सफारी सेवाको उपयोग गर्ने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष वर्षायामको सुरुआतसँगै करिब मध्य असारदेखि असोजको पहिलो सातासम्म जिप सफारी बन्द गर्दै आएको छ।–00–

