चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ।
भरतपुरस्थित सिएमटी रिसोर्टमा आयोजना हुने बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
हाल रास्वपाको १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ। विधान संशोधनमार्फत केन्द्रीय समितिको सदस्य संख्या बढाएर १५१ पुर्याउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिबाट पारित हुने संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिने बताइएको छ।
केन्द्रीय समितिको बैठक तथा महाधिवेशनमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए। रास्वपाको पहिलो महाधिवेशन भोलिदेखि तीन दिनसम्म भरतपुरमा सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट करिब ३ हजार प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजना हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। प्रतिनिधिहरूको खानाको व्यवस्था पार्टीले गर्ने भए पनि आवासको व्यवस्था तथा त्यससम्बन्धी खर्च प्रतिनिधि स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठन विस्तार, विधान परिमार्जन तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। —00—

