चितवन,५ असार । कालिका नगरपालिकाले पर्यटन तथा सांस्कृतिक विकासलाई प्राथमिकतामा राख्दै नगरभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकास गर्ने नीति अघि सारेको छ।
नगरपालिकाले समृद्ध कालिकाको दीर्घकालीन पर्यटन विकासका लागि योजना बैंक तयार गरी अल्पकालीन तथा दीर्घकालीन योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने जनाएको छ। यसका लागि आवश्यक बजेट विनियोजन गरी योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिनेछ।
नगरभित्र रहेका सिन्ती झरना, गैरीवारी झरना, चित्राम झरना, भीमवली तथा उदयपुर पार्क लगायतका पर्यटकीय क्षेत्रलाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्यका रूपमा विकास गरिने नीति लिइएको छ। साथै नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी, विकास र सौन्दर्यीकरण गर्दै पर्यापर्यटन, धार्मिक पर्यटन तथा अन्य पर्यटन गतिविधिसँग सम्बन्धित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालिका माई भगवती मन्दिर, लखेधर महादेव, भीमवली बाबा, ढुङ्गे थान लगायतका धार्मिक स्थल तथा गुफाहरूलाई एकीकृत पर्यटन विकाससँग जोडिने भएको छ। नगर क्षेत्रमा रहेका पुरातात्त्विक संरचना, मठमन्दिर, गुम्बा, स्तम्भ, चौतारा, संग्रहालय तथा ऐतिहासिक महत्वका पानीघाटहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गरिने जनाइएको छ।
पर्यटन विकासलाई टेवा पुर्याउन आधुनिक प्रविधिमार्फत पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरिने तथा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी आवश्यक ग्रामीण पर्यटन पूर्वाधार निर्माण गरिने नगरपालिकाले जनाएको छ।
त्यसैगरी सांस्कृतिक संरक्षण तथा संवर्द्धनलाई विशेष प्राथमिकता दिँदै सामाजिक तथा सांस्कृतिक रूपान्तरणमार्फत सभ्य, सुरक्षित र समुन्नत समाज निर्माण गर्ने नीति लिइएको छ। नगरभित्र रहेका आदिवासी जनजाति, दलित, लोपोन्मुख, सीमान्तकृत तथा अतिसीमान्तकृत समुदायका मौलिक संस्कृति, परम्परा, भेषभूषा र जीवनशैलीको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्ने योजना समेत नगरपालिकाले अघि सारेको छ।


