कोरियामा श्रमिक प्रवेश खुला

फागुन १८ काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवालाई प्रवेश अनुमति पुनः खुला गरिएको छ ।

सो मुलुकले कोरोना महामारीका कारण माघ दोस्रो साताबाट कोरोनामा प्रवेश रोकेको थियो । २३ फागुुनबाट श्रमिकले कोरियामा प्रवेश पाउने छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुुन २३ गते ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर पनि जान नपाएका मध्येबाट २३६ जना एकैपटक कोरिया जाने तयारी छ ।

सो दिन यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन् । प्रतिबद्ध श्रमिक भन्नाले ईपीएसमार्फत कोरिया गएर चार वर्ष १० महिना काम गरेर समयभित्रै फर्केका कामदार हुन् । विभागका अनुसार खुला भएसँगै नियमित र प्रतिबद्ध दुवै तरिकाबाट कोरिया जान छनोट भएका युवा कोरिया प्रवेश गर्न पाउने छन् । कात्तिकदेखि सुुरु भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिकको तर्फका मात्र गएका थिए ।

विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब सात हजार र प्रतिबद्ध श्रमिकतर्फबाट तीन हजार गरी दस हजार श्रमिक कोरिया जान छनोट भएका छन् । यीमध्ये एक हजार ७१ युवा कोरिया प्रवेश गरिसकेको र बाँकी जाने प्रतीक्षामा छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु