काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरूलाई विदेश पठाइएका कामदारहरूको विस्तृत विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
विभागले पत्राचार गर्दै २०८२ साल चैत १ गतेदेखि हालसम्म संस्थागत श्रम स्वीकृतिमार्फत विदेश पठाइएका कामदारहरूको नामावलीसहित आवश्यक विवरण पेश गर्न भनेको हो।
विभागले वैदेशिक रोजगार ऐनमा विदेश जाने कामदारलाई स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो अवधिमा कुन-कुन कामदारलाई कुन माध्यमबाट विदेश पठाइएको भन्ने अभिलेख माग गरेको जनाएको छ।
निर्देशनअनुसार मेनपावर कम्पनीहरूले संस्थागत श्रम स्वीकृति प्राप्त गरी विदेश पठाइएका कामदारको नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त गरेको मिति, गन्तव्य मुलुक, उडान भएको मिति तथा प्रयोग गरिएको विमानस्थल उल्लेख गरी तोकिएको ढाँचामा विवरण विभागमा बुझाउनुपर्नेछ।
विभागले माग गरेको विवरणले वैदेशिक रोजगारी प्रक्रियाको प्रभावकारी अनुगमन तथा प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।—00–


