झुवानीमा जेष्ठ नागरिकका लागि एसी सहितको दिवा विश्राम कक्ष स्थापना

रत्ननगर, १७ बैशाख। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा जेष्ठ नागरिकहरूलाई लक्षित गरी ‘दिवा कालिन विश्राम कक्ष’ स्थापना गरिएको छ।

गर्मी मौसमलाई ध्यानमा राखी विश्राम कक्षमा एसीको सुविधा समेत उपलब्ध गराइएको छ। झुवानी सामुदायिक पुस्तकालयको भवनभित्र स्थापना गरिएको उक्त विश्राम कक्षको उद्घाटन वडा नं. ५ का अध्यक्ष बालकृष्ण चापागाईंले आज एक कार्यक्रमका बीच गर्नुभयो।


उक्त विश्राम कक्ष झुवानी सामुदायिक पुस्तकालयको व्यवस्थापन र रत्ननगर नगरपालिका वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

वडा अध्यक्ष चापागाईंका अनुसार गाउँघरमा रहेका जेष्ठ नागरिकहरू एकै ठाउँमा जम्मा भई आरामका साथ समय बिताउन सकून् भन्ने उद्देश्यले यो विश्राम स्थल निर्माण गरिएको हो। “जेष्ठ नागरिकहरूका लागि चिया, पानी र खाजाको समेत व्यवस्था गरिएको छ,” उहाँले बताउनुभयो।

कार्यक्रममा जेष्ठ नागरिक समन्वय समिति रत्ननगरका छविलाल घिमिरे, रत्ननगर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम विनोद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो।

अध्यक्ष चापागाईंले झुवानीसँगै वडा भित्रका अन्य गाउँहरूमा पनि यस्ता विश्राम स्थल आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिनुभयो।

-00–

Share:

सम्बन्धित समाचारहरु