विराटनगरमा कांग्रेस संस्थापन इतर पक्षको शक्ति प्रदर्शन, सांगठानिक सुधारमा जोड

विराटनगर, ३१ जेठ ।  विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला सुरु भएको छ। पार्टीभित्र दबाब सिर्जना गर्दै संगठनका कमजोरी सुधार गर्नुपर्ने मागसहित उक्त समूहले शक्ति प्रदर्शनका रूपमा भेलाको आयोजना गरेको हो।

भेलामा नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारको सहभागिता रहेको छ। कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए।

महामन्त्री राईले कांग्रेस विभिन्न गुट तथा उपगुटमा विभाजित हुँदै गएको टिप्पणी गर्दै पार्टी नेतृत्वले आम कार्यकर्ताको भावना र अपेक्षालाई उचित रूपमा सम्बोधन गर्न नसकेको आरोप लगाए।

उनले भने, “यो भेला कुनै व्यक्ति वा समूहको स्वार्थका लागि आयोजना गरिएको होइन। कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउन दबाब समूहका रूपमा हामी प्रस्तुत भएका हौँ।”

भेलामा सहभागी इतर पक्षका नेताहरूले पार्टीभित्र हाल सञ्चालन भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले उक्त प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सबैलाई स्वीकार्य बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

Share:

सम्बन्धित समाचारहरु