चितवनमा सबै राजनीतिक दल एउटै मञ्चमा, गणतन्त्र संस्थागत गर्न एकतामा जोड

चितवन । गणतन्त्र दिवसको अवसरमा चितवनका प्रमुख राजनीतिक दलहरू एउटै मञ्चमा उभिएका छन् । राजनीतिक रूपमा फरक–फरक विचारधारा बोकेका दलका नेताहरू गणतन्त्रको संरक्षण, संस्थागत विकास र यसको उपलब्धिलाई जनतासम्म पुर्‍याउन साझा प्रतिबद्धतासहित एउटै कार्यक्रममा सहभागी भएका हुन् ।

गणतन्त्र स्थापना नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र आन्दोलनको उपलब्धि भएकाले यसलाई कमजोर हुन नदिई थप सुदृढ बनाउनुपर्ने सन्देश दिन चितवनका क्रियाशील राजनीतिक दलहरू एउटै मञ्चमा देखिएका हुन् ।जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजना गरिएको विशेष कार्यक्रममा जिल्लामा क्रियाशील अधिकांश राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा भ्रष्टाचार विरोधी अभियन्ता भीमबहादुर श्रेष्ठले गणतन्त्र प्राप्तिपछि नागरिकले अपेक्षा गरेअनुसार उपलब्धिको अनुभूति गर्न नसकेको टिप्पणी गरे । उनले गणतन्त्र केवल शासन व्यवस्था परिवर्तनमा सीमित हुन नहुने उल्लेख गर्दै यसको प्रत्यक्ष लाभ नागरिकको जीवनस्तरसँग जोडिनुपर्ने बताए । श्रेष्ठले राजनीतिक दल, नागरिक समाज र राष्ट्रसेवक कर्मचारीबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए । “गणतन्त्रको मर्म र भावना अनुसार काम गर्न सबै पक्ष जिम्मेवार र इमान्दार बन्नुपर्छ,” उनले भने, “राजनीतिक परिवर्तनको उपलब्धि जनताको घरदैलोमा पुग्न सके मात्रै गणतन्त्रको सार्थकता पुष्टि हुन्छ ।”

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटाले गणतन्त्रले नागरिकलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अब ती अधिकारको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलबीच सहकार्य र विश्वासको वातावरण आवश्यक रहेको धारणा राखे । उनले राजनीतिक दलहरूले खिचातानी र आरोप–प्रत्यारोपभन्दा माथि उठेर एकजुट भएर काम गर्न सके गणतन्त्र थप मजबुत बन्ने बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले राष्ट्रसेवक कर्मचारीले पनि सेवा प्रवाहलाई निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए । “पोशाक, पद वा आचरणका आधारमा नागरिकप्रति फरक व्यवहार गर्नु हुँदैन,” उनले भने, “राज्यको सेवा लिने प्रत्येक नागरिकले सम्मान र सहजताको अनुभूति गर्न पाउनुपर्छ ।”

कार्यक्रममा सहभागी अधिकांश राजनीतिक दलका नेताहरू एउटै मञ्चमा उपस्थित भए पनि उनीहरूले औपचारिक सम्बोधन भने गरेनन् । तर, उनीहरूको संयुक्त उपस्थितिलाई चितवनमा राजनीतिक सहकार्य र गणतन्त्रप्रतिको साझा प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसअघि गणतन्त्र दिवसको अवसरमा भरतपुरको चौबिसकोठीबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । राष्ट्रिय झण्डा र विभिन्न नारासहित निकालिएको प्रभातफेरीले भरतपुर बजार क्षेत्र परिक्रमा गरेको थियो ।

नेपालमा २०६५ साल जेठ १५ गते दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । त्यसयता प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ । यस वर्ष चितवनमा सबै राजनीतिक दल एउटै मञ्चमा उभिनुलाई गणतन्त्रको रक्षा र संस्थागत विकासका लागि सकारात्मक सन्देशका रूपमा लिइएको छ ।

Share:

सम्बन्धित समाचारहरु