नेपाल उद्योग व्यापार महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा: गभर्नर पौडेलले उद्घाटन गर्ने

सेतोनेपाल संवाददाता-
भरतपुर । नेपाल उद्योग व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा आज भरतपुरको मलेवा व्याङ्क्वेटमा आयोजक समितिले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो।
यही वैशाख १९ र २० गते नवलपुरको गैँडाकोटस्थित नारायणी रिसोर्टमा आयोजना हुने यस महाधिवेशनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गर्ने कार्यक्रम तय भएको छ। महासंघका अनुसार महाधिवेशनमा समसामयिक आर्थिक चुनौती, नीतिगत सुधार तथा देशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकाका विषयमा गहन छलफल गरिनेछ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष तथा पदाधिकारीहरूले राष्ट्रिय स्वाधीनताका लागि आत्मनिर्भर र सशक्त राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। महासंघले औद्योगिक विकास, उत्पादन वृद्धि, व्यापार विविधीकरण र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।
भोलिदेखि सुरु हुने दुई दिने महाधिवेशनमा देशभरका उद्योगी, व्यवसायी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा सरोकारवाला निकायहरूको ४ सयजना सहभागि रहने महाधिवेशन मूल आयोजक समितिका संयोजक खिमलाल भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न व्यावसायिक क्षेत्रका नेतृत्वदायी प्रतिनिधिहरूको उपस्थिति रहनेछ। महासंघले यस राष्ट्रिय महाधिवेशनलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, उद्योगी र व्यवसायीहरूलाई सहयोग र सहभागिताका लागि हार्दिक अपिल समेत गरेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु