काठमाडौं । नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने तयारी सरकारले अघि बढाएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक अध्ययन सुरु गरेको छ।
भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले समेत आफ्नो तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्न तयार रहेको जनाउँदै मन्त्रालयमा निवेदन दिएका छन्।
मन्त्रालयले इच्छुक पालिकाहरूलाई चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजना बनाएको छ। सोही अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोत सेवा स्थानीय तहमा उपलब्ध गराउने तयारी भइरहेको छ।
पालिका छनोट गर्दा सेवाग्राहीको चाप, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार बनाइनेछ। कम भिडभाड भएका तथा अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
इच्छुक पालिका रहेका जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीहरूलाई तत्काल स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति बुझ्न मन्त्रालयले बिहीबार नै पत्राचार गरेको छ।
सेवा हस्तान्तरणसँगै आवश्यक प्राविधिक पूर्वाधार र जनशक्ति व्यवस्थापन पनि मन्त्रालयले गर्ने तयारी गरेको छ। साथै पालिकालाई आवश्यक सामग्री उपलब्ध गराउने र कर्मचारीलाई तालिम तथा प्रशिक्षण दिने योजना समेत अघि सारिएको छ।
मन्त्रालयका अनुसार एक साताभित्र सबै तयारी पूरा गरी पहिलो चरणका केही पालिकामा नापी तथा मालपोत सेवा हस्तान्तरण गरिनेछ।–00–


