खैरहनीमा‘छोरी पशुधन कार्यक्रम’ – गाई खरिदमा ८० प्रतिशत अनुदान दिने

चितवन, ३ वैशाख । खैरहनी नगरपालिकाले एकल महिलाको जीवनस्तर उन्नत बनाउन  ‘छोरी पशुधन कार्यक्रम’ अन्तर्गत गाई खरिदमा ८० प्रतिशत अनुदान दिने अभियान सुरु गरेको छ। नगरप्रमुख शशीकुमार खनियाका अनुसार नगरभित्रका ३० जना एकल महिलालाई गाई खरिदका लागि प्रति महिला ६० हजार रुपैयाँ अनुदान प्रदान गरिनेछ।

यस कार्यक्रमका लागि कुल १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। छनोट प्रक्रियामा आवेदकको आर्थिक अवस्था, परिवारमा बालबालिका आश्रित रहेको/नरहेको, अन्य आय स्रोत, संयुक्त परिवारमा बसोबासजस्ता विभिन्न मापदण्डलाई आधार मानिएको थियो। कुल १४५ जनाको निवेदनमध्येबाट ३० जना छनोट भएका हुन्।

नगरप्रमुख खनियाले एकल महिलाको आर्थिक सशक्तिकरणका लागि सुरु गरिएको यो कार्यक्रम देशमै नमुना बन्ने विश्वास व्यक्त गरे। “गाई अनुदानमा लिएपछि त्यसको व्यवसायिक प्रयोग गरी आत्मनिर्भर बन्नु नै हाम्रो लक्ष्य हो,” उनले भने। खरिद गरिने गाईहरूमा नियमित अनुगमन हुने र गाई बिक्री गर्न नपाइने सर्त पनि लगाइएको छ।

नगर उपप्रमुख कविता उप्रेतीले सहभागी महिलालाई गम्भीर र मेहनती बन्न आग्रह गर्दै भनिन्, “अनुदानको भर पर्नु होइन, त्यो एक गाईबाट सुरु गरेर केही वर्षमै गोठ भरिने उद्देश्यका साथ लाग्नुपर्छ।”

गाई खरिदका लागि यस्तो मापदण्ड बनाइएको छ :

गाई जर्सी क्रस जातको हुनुपर्ने

-तेस्रो बेतभन्दा बढी नपुगेको

-दैनिक कम्तीमा १० लिटर दूध दिने

-पूर्ण रूपमा स्वस्थ हुनुका साथै विमा अनिवार्य

पशु विकास शाखा प्रमुख डा. सुरक्षा कट्टेलका अनुसार, सम्झौतापछि १५ दिनभित्र गाई खरिद गरी प्रक्रिया पूरा गर्नुपर्नेछ।

नगरपालिकाले अनुदान उपलब्ध गराए पनि गाई खरिदमा २० प्रतिशत रकम लाभग्राही महिलाले स्वयं व्यहोर्नुपर्नेछ। गाईको अधिकतम मूल्य ७५ हजार रुपैयाँ तोकिएको छ। खैरहनी नगरपालिकाको यो पहलले एकल महिलालाई आत्मनिर्भर बनाउँदै पशुपालनमार्फत दिगो आयआर्जनको बाटो खोल्ने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु