खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अहिलेसम्म परराष्ट्र मन्त्रालयका कूटनीतिक कर्मचारी वा सत्तारुढ दलको सिफारिसका आधारमा राजदूत नियुक्त हुने प्रचलन रहेको थियो । तर, वर्तमान सरकारले उक्त परम्परालाई परिवर्तन गर्दै खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिलाई छनोट गर्ने योजना अघि सारेको हो ।

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार निश्चित संख्यामा दरखास्त आह्वान गरिनेछ र प्रतिस्पर्धाबाट योग्य ठहरिएकालाई राजदूतमा नियुक्त गरिनेछ । सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषयमा छलफल गरेका थिए ।

‘रिक्त पदका लागि विज्ञापन निकाल्ने विषयमा प्रधानमन्त्रीको सहमति पनि लिइसकिएको छ,’ स्रोतले जनाएको छ । यद्यपि, दरखास्त आह्वानको ठ्याक्कै मिति भने सार्वजनिक गरिएको छैन । सचिवालयका एक सदस्यका अनुसार आगामी साताभित्रै प्रक्रिया सुरु हुन सक्ने सम्भावना रहेको छ ।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास रहेका छन् । अहिले भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा गरी १७ राजदूत पद रिक्त छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्ला सरकारहरूले फिर्ता बोलाएपछि ती पदहरू खाली भएका हुन् । साथै, आगामी जुलाई अन्त्यसम्म थप ६ देश—ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिँदैछ ।

यससँगै वर्तमान सरकारले एकैपटक करिब २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउने देखिएको छ ।–0–

Share:

सम्बन्धित समाचारहरु