झापा–मोरङको जंगलमा हात्तीको बथान बढ्दा मानव–हात्ती द्वन्द्व तीव्र हुने चिन्ता

झापा । नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको ठूलो बथान लामो समयदेखि झापा र मोरङको जंगल क्षेत्रमा बसोबास गर्दै आएपछि मानव–हात्ती द्वन्द्व बढ्ने संकेत देखिएको छ ।

यसअघि नै यी दुई जिल्लाका वन क्षेत्रमा करिब ३० वटा रैथाने हात्ती रहेको उल्लेख गर्दै संरक्षणकर्मीहरूले नयाँ बथान थपिएपछि जोखिम झनै बढेको चेतावनी दिएका छन् । गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जंगल पार गर्दै पूर्वतर्फ लागेको हात्तीको बथान बाहुनडाँगी हुँदै भारत प्रवेश गर्ने अनुमान गरिएको थियो । तर, डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार रतुवामाई वृक्षरोपण क्षेत्रसम्म पुगेको उक्त बथान छिन्नभिन्न भई ठूलो हिस्सा मोरङतिर फर्किएको छ भने बाँकी दुई झुण्ड झापामा नै विचरण गरिरहेका छन् ।

जंगलमा आहार र बासस्थानको अभाव

सिमित क्षेत्रफलको जंगलमा हात्तीको संख्या निरन्तर बढ्दै जाँदा पर्याप्त आहार र सुरक्षित बासस्थान नहुँदा जोखिम स्वाभाविक रूपमा बढेको संरक्षणकर्मीहरूको भनाइ छ । आहारको खोजीमा हात्ती गाउँबस्तीमा पस्ने गरेको भन्दै स्थानीयले निरन्तर आतंक भोग्दै आएका छन् ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलका अनुसार हात्ती घुमन्ते प्राणी भए पनि आहार र बस्ने उचित स्थान नछोडीसम्म छिट्टै बसाइँ सार्दैनन् । “मोरङबाट झापातिर आएको हात्तीको बथानमा साना र किशोर हात्ती धेरै छन्,” उनले भने, “माउ हात्तीले बच्चालाई डुलाउँदै र ठाउँ चिनाउँदै हिँड्ने भएकाले बसाइँ सार्न ढिलो गर्छन् ।”

उनका अनुसार आसाम हुँदै सुकुना मार्गबाट नेपाल आउँने हात्तीहरूको ओहोरदोहोर ऐतिहासिक रूपमा चलिआएको हो । हाल झापा–मोरङ क्षेत्रमा धान, मकै र केराको पर्याप्त उपलब्धताले पनि बथान भारततिर नफर्किएको हुनसक्ने उनको अनुमान छ ।

स्थानीयवासी जोखिममा

बथान छुट्टिएपछि झापाको दमक, हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको हात्तीसँग जम्काभेट बढ्दै गएको छ । दिनको समयमा हात्ती बाक्लो जंगलमै बस्ने तर दिउँसो–बेलुका आहाराको खोजीमा बाहिर निस्कने भएकाले दाउरा लिन, गाई–वस्तु चराउन र खेती गरिरहेका मानिसहरू सीधै जोखिममा पर्छन् ।

रैथाने ‘एक्ले’ हात्तीको तुलनामा बाहिरबाट आएका बथानका हात्ती कम आक्रामक हुने खरेल बताउँछन् । “रैथाने एक्ले हात्तीहरू मानिसको लखेटाइले थेत्तरो भइसकेकाले चाँडै आक्रमणमा उत्रिन्छन्,” उनले भने, “तर बथानका हात्तीले मानिस देखेपछि बालबच्चालाई घेराभित्र राखेर भाग्ने गर्छन्, हत्तपत्त आक्रमण गर्दैनन् ।”

सावधानी अपनाउन आग्रह

हात्तीलाई जिस्काउने, आगो झोस्ने, बिथोल्ने जस्ता गतिविधिले नै अधिकांश मानवीय क्षति हुने भएकाले समुदायले उच्च सावधानी अपनाउनुपर्ने संरक्षणकर्मीहरूको सुझाव छ । जंगलमा आहारको कमी र हात्ती संख्या बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व अझ चर्किन सक्ने भएकाले सम्बन्धित निकाय र स्थानीयवासी दुवैले सतर्कता बढाउनुपर्ने उनीहरूको आग्रह छ ।–00–

Share:

सम्बन्धित समाचारहरु