बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई कोसी प्रदेशबाट जनही एक लाख राहत

विराटनगर । कोसी प्रदेश सरकारले हालैको बाढीपहिरोमा परेर मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ प्रारम्भिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, सबैभन्दा बढी जनधनको क्षति इलाममा भएको छ, जहाँ हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

मन्त्री भण्डारीले भने, “प्रारम्भिक राहतस्वरूप मृतकका परिवारलाई एक लाख रुपैयाँ दिइनेछ, साथै घर निर्माण तथा मर्मतका लागि थप सहयोगका योजना पनि अघि बढाइनेछ।”

उनका अनुसार, प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै राहत र उद्धार कार्य अघि बढाइरहेको छ। उनले थपे, “अहिले सुरक्षा निकाय अग्रपंक्तिमा रहेर खटिएका छन्, हामी प्रदेश सरकारका तर्फबाट हुन सक्ने सबै सहयोगका लागि तयारी अवस्थामा छौँ।”

भण्डारीले प्रदेशका तर्फबाट विपद् व्यवस्थापन सामग्रीहरू सुरक्षाकर्मीलाई उपलब्ध गराइएको जानकारी दिए। यसैबीच, मन्त्री भण्डारीले कर्मचारी टोलीसहित कोसी ब्यारेज क्षेत्रको निरीक्षण पनि गरेका छन्। निरीक्षणका क्रममा उनले बाढीबाट हुन सक्ने थप जोखिम न्यूनीकरणका उपायहरूबारे सरोकारवालासँग छलफल गरेका छन्।—00–

Share:

सम्बन्धित समाचारहरु