अयोध्याधाममा विवाह पञ्चमीको अवसरमा खुल्ला रत्यौली प्रतियोगिता हुने

-रेशम सापकोटा
माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सवसहित मनाइने भएको छ। मिति २०८२ साल मङ्सिर ९ गते पर्ने शुभ अवसर पारेर अयोध्या धाम पूजा व्यवस्थापन समितिले धार्मिक कार्य सहित खुल्ला रत्यौली प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

प्रतियोगितामा सहभागी हुने महिला समूहहरूलाई समितिले पुरस्कारको व्यवस्था गरेको छ। प्रथम हुने समूहले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार, र सान्त्वना प्राप्त गर्ने समूहले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

धार्मिक आस्थाका रूपमा अयोध्याधामलाई भगवान श्रीरामको जन्मस्थानको रूपमा निकै श्रद्धाका साथ हेरिने गरिन्छ। विगतमा विवाह पञ्चमीमा यहाँ भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुँदै आएका थिए। यिनै परम्परागत गतिविधिलाई निरन्तरता दिँदै यस वर्ष रत्यौली प्रतियोगिता पनि विशेष रूपमा समावेश गरिएको समितिले जनाएको छ।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले धार्मिक गतिविधि सहित रत्यौलीजस्तो मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यले यो कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सामुदायिक सहभागिता र संस्कृतिको जगेर्नाका लागि यस्तो सांस्कृतिक गतिविधि आवश्यक रहेको धारण व्यक्त गर्नु भयो ।

यसैगरी, अयोध्या धाम पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले श्रीराम–सीता विवाह उत्सवले स्थानीयको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको प्रवद्र्धकका रूपमा माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठान रहने जानकारी समितिका सचिव सूर्यनाथ अधिकारीले जानकारी दिनुभयो।

समितिले महिला समूहहरूलाई समयमै नाम दर्ता गरी खुल्ला रत्यौली प्रतियोगितामा सहभागी हुनका लागि सम्पूर्णलाई हार्दिक आग्रह समेत गरेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु