काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज (बिहीबार) पदभार ग्रहण गर्दै छन्।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बिहान १०ः४५ बजे गृह मन्त्रालयमा आयोजित एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको छ।
सरकारले सोमबारको मन्त्रीपरिषद बैठकमार्फत कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि ३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा गएका छन्।
नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ गतेसम्म रहनेछ।–00–


