काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन् । उनले चाहिँ देश छोड्न भनिए पनि त्यसका लागि तयार रहेको बताएका हुन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने,
“तपाईंहरूले भन्नुभयो भने — दुर्गा तँ देश छोडेर जा, तेरो कारणले सबै बिग्रियो — म तयार छु, म जान्छु । मलाई लोभ छैन, केही चाहिँदैन ।”
प्रसाईंले सन् २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिलेको अवस्थासम्मको आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै अतीतका गल्ती स्वीकार गरे ।
उनले भने, “हिजो जे भयो–भयो, सबैले बाटो बिर्सियौं । अब त कमसेकम देश जोगाउने दिशामा लाग्नुपर्छ । नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर न्यानो ठाउँमा लैजाऔं ।”
“मुख्यधारका मिडियाले कहिल्यै राम्रो लेखेन”
आफू ‘रेण्डम टाइपको मान्छे’ भएको बताउँदै प्रसाईंले मुख्यधारका मिडियामाथि गुनासो पनि गरे ।
“मेन स्ट्रिम मिडियाले त कहिल्यै मेरो राम्रो लेखेन, जीवनमा कहिल्यै लेखेन,” उनले भने, “तपाईंहरू गाली गर्दैगर्दा पनि म यहाँ आएँ । तपाईंहरूसँग लडेर आएको हो नि म त ।”
पत्रकार सम्मेलनमा सम्पादकहरू पनि सहभागी थिए ।
गत चैत १५ गते प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ले काठमाडौंको तिनकुनेमा गरेको राजसंस्थाको समर्थनमा प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसपछि उनी भारत भागेका थिए ।
प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले जमानतमा रिहा गरेको थियो ।
हाल प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । गृह मन्त्रालयले भने प्रदर्शन नगर्न आग्रह गर्दै वार्ताको लागि बोलाएको छ ।
वार्ताको आह्वानपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत सरकारको कदमको स्वागत गर्दै भनेका छन् —
“सरकारले जनताको आवाज सुन्ने प्रयास गरेको छ, यो सकारात्मक कुरा हो ।”–00–


