आज विश्व मिर्गौला दिवस :मिर्गौला स्वस्थ राख्न के गर्ने ?

फाल्गुन २६ काठमाण्डौ । आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ्य खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ । कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने उहाँको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको डा। श्रेष्ठले बताउनुभयो ।

मिर्गौला स्वस्थ राख्न यस्तो गर्नुस्:
– नियमित व्यायाम गर्ने,
– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने,
– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने,
– सुर्ती, खैनी, चुरोट सेवन नगर्ने,
– दुखाई कम गर्ने औषधि समेसम्म प्रयोग नगर्ने
– उचाई अनुसारको तौल कायम राख्ने,
– स्वास्थकर खाना खाने
– चिनी, नुन बढी भएको खाना नखाने

–रक्तचाप ठीक राख्ने
– मधुमेहका विरामीले समय सयमा स्वस्थ्य परिक्षण गर्ने
– वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसानमा प्रोटिनको परिक्षण गराउने ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु