नारायणगढ जेसीजले कार्तिक २३ देखि जेसीज सप्ताह–२०२५ मनाउँदै (यस्तो छ कार्यक्रमहरु)

नारायणगढ । युवा नेतृत्व विकास, सकारात्मक परिवर्तन र समुदायमा सक्रिय योगदानका उद्देश्यसहित नारायणगढ जेसीजले हरेक वर्षझैं यस वर्ष पनि “जेसीज सप्ताह–२०२५” भव्य रूपमा मनाउने भएको छ। संस्था स्थापनाको ५०औं वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसर पारेर कार्तिक २३ देखि २९ गतेसम्म साताव्यापी विविध कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

राष्ट्र निर्माणमा युवाको सक्रिय भूमिका रहने विश्वासका साथ नारायणगढ जेसीजले विगत पाँच दशकदेखि व्यक्तित्व तथा नेतृत्व विकास, सामुदायिक सेवा, उद्यमशीलता प्रवर्द्धन र सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस वर्षको स्वर्ण जयन्ती विशेष सप्ताहमा ‘एकता, सहकार्य र सामाजिक उत्तरदायित्व’ लाई मुख्य विषयवस्तु बनाइएको छ।

साताव्यापी कार्यक्रम अन्तर्गत समाज, शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा खेलकुद क्षेत्रलाई समेट्ने विभिन्न गतिविधि सञ्चालन गरिने भएका छन्। कार्यक्रमको विस्तृत विवरण यसप्रकार छः

१. कार्तिक २३ गते (शनिबार): बिहान ८ बजे जेसीज सचिवालय, भरतपुर–०१ मा जेसीज सप्ताह तथा स्वर्ण जयन्ती स्मारक उद्घाटन समारोह आयोजना हुनेछ। पहिलो दिनको संयोजक जेसी सबिन पौडेल रहनु हुनेछ।

२. कार्तिक २४ गते (आइतबार): क्यासी स्पोर्ट्स, बाह्रघरे भरतपुर–०३ मा विहान ८ बजेबाट पत्रकार महासंघ चितवन र नारायणगढ जेसीजबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ। संयोजक जेसी विमिशमान शाक्य रहनेछन्।

३. कार्तिक २५ गते (सोमबार): जेसीज सचिवालयमा बिहान ११ बजेबाट भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ। संयोजक जेसी ई. अस्वीन पौडेल रहनेछन्।

४. कार्तिक २६ गते (मङ्गलबार): कुरिनटार, इच्छाकामनास्थित जेसीज गाउँमा शिक्षासम्बन्धी सामग्री हस्तान्तरण कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। संयोजक जेसी संजीव पौडेल रहनेछन्।

५. कार्तिक २७ गते (बुधबार): चितवन उद्योग वाणिज्य संघ, भरतपुर–०१ मा दिउँसो ३ बजेबाट व्यवसायी र युवा उद्यमीहरूबीच बीजनेश संवाद कार्यक्रम आयोजना हुनेछ। संयोजक जेसी अविनाश खनाल रहनेछन्।

६. कार्तिक २८ गते (बिहीबार): सामुदायिक प्रहरी केन्द्र, भरतपुर–०३ मा दिउँसो १ बजेबाट पोषण सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ। संयोजक जेसी सुशील सापकोटा रहनेछन्।

७. कार्तिक २९ गते (शुक्रबार): सप्ताहको अन्तिम दिन स्वर्ण जयन्ती विशेष समापन समारोह आयोजना गरिने तयारी गरिएको छ।

जेसीजका अध्यक्षका अनुसार, यो सप्ताह कार्यक्रममार्फत संस्थाको पाँच दशकको यात्रा, सामाजिक योगदान र भविष्यका योजनाबारे समाजलाई जानकारी दिइनेछ। उनले कार्यक्रमहरूमा समुदायका विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता सुनिश्चित हुने विश्वास व्यक्त गरे।

Share:

सम्बन्धित समाचारहरु