काठमाडौं, १५ साउन। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी(पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ । युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६० लाख बालबालिका प्रभावित भएको अनुमान छ ।
मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । युनिसेफले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी यी देशहरुमा ६० लाखभन्दा बढी बालबालिका र तिनीहरुको परिवारको सुरक्षा र रहन(सहनलाई लिएर चिन्तित छौं, जसको घर छैन, जो विस्थापित भएका छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।’
युनिसेफका अनुसार वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ । बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ । दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ । उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ ।
युनिसेफका अनुसार जलवायु परिवर्तनका कारण अत्यन्त गम्भीर मौसमी घटनाहरु भइरहेका छन्, जसबाट बालबालिकाको जिन्दगी नै बदलिएको छ ।–00–


