नेप्से ४४ अंकले उक्लियो, कारोबार रकम साढे एक अर्बले घट्यो

काठमाडौं ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ४४.२५ अंकले बढेर बन्द भएको छ। बजार १.७६ प्रतिशतले उक्लिँदै २,५४७.६० विन्दुमा पुगेको हो।
आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो।

आज कारोबार रकम भने घट्दै चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो, जसको तुलना गर्दा रकम साढे एक अर्बभन्दा बढीले घटेको देखिन्छ।

आजको बजारमा २०० कम्पनीको सेयरमूल्य बढेको, ४४ कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स का सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

सेयर कारोबार रकमका हिसाबले एनआरएन इन्फ्राइट्रक्चर डेभलपमेन्ट सबैभन्दा अगाडि रह्यो, जसको ३१ करोड ९१ लाख रुपैयाँको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बिमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक हरियो बनेका छन्। तीमध्ये ‘अन्य’ समूह ५.०१ प्रतिशतले बढ्दै सबैभन्दा बढी वृद्धि भएको समूह बनेको छ।

Share:

सम्बन्धित समाचारहरु