चितवन, २ भदौ । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा चितवन फोटोग्राफी संघले आज भरतपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा चितवनका अग्रज फोटोग्राफरहरूले आफ्नो अनुभव सुनाउँदै फोटोग्राफी पेशाबाट पाएका अवसर, चुनौती र सन्तुष्टिका क्षणहरू स्मरण गरेका थिए ।
मनकामना फोटोग्राफीका संचालक रामजी नेपालले आफू कलर ल्याबमार्फत फोटोग्राफीमा प्रवेश गरेको र सादा फोटोको युगदेखि निरन्तर यस पेशामा सक्रिय रहेको बताए । उनले २०५९ सालदेखि औपचारिक रूपमा यस क्षेत्रमा लागेको स्मरण गरे ।

कृति फोटोकी संचालिका जमुना भुषालले महिला भएर पनि फोटोग्राफीलाई पेशाका रूपमा अंगालेर निरन्तर सक्रिय रहेको अनुभव सुनाइन् । उनले श्रीमान–श्रीमती मिलेर विवाह तथा अन्य अवसरहरूमा फोटो खिच्न जाँदा पाएको अनुभव रोचक रहेको उल्लेख गरिन् ।
सिनिर फोटो भरतपुरका संचालक शेखर राप्चाले फोटोग्राफीले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याएको बताए । उनका अनुसार यही पेशाबाट परिवारलाई खुशी राख्न, खान–लाउन र जीवनयापन सहज भएको छ ।
डिजिटल फोटो नारायणगढका संचालक प्रवेश घिमिरेले नेपालदेखि भारतसम्म फोटो खिच्न पुगेको अनुभव सुनाउँदै फोटोग्राफीलाई आत्मसन्तुष्टिदायी पेशा रहेको बताए ।

फोटोग्राफी संघका पूर्व अध्यक्ष लक्ष्मण गुरुङले शिक्षण पेशा छाडेर फोटोग्राफी रोजेको अनुभव सुनाए । उनले शिक्षण भन्दा फोटोग्राफी पेशामा भविष्य सुरक्षित देखेर यस क्षेत्रमा लागेको र यसले जीवनमा धेरै खुशी र सन्तुष्टि दिएको बताए । संघका अर्का पूर्व अध्यक्ष उत्तमचन्द्र वाग्लेले पनि आफ्नो दीर्घ अनुभव सुनाउँदै फोटोग्राफी क्षेत्रलाई जीवनकै महत्वपूर्ण उपलब्धि भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि चन्द्रकान्त ओझाले पनि विद्यार्थी जीवनमा राजनीति र पोखराकै ल्याबमा काम गरेको अनुभव सुनाए । उनले २०५१ सालमा रत्ननगरमा नमुना फोटो स्टुडियो खोलेको र रिलको प्रयोग गरेर अँध्यारो कोठामा बसेर फोटो धुने अभ्यासदेखि हालको डिजिटल युगसम्म देखिएको ठूलो परिवर्तनबारे स्मरण गरे ।
कार्यक्रममा फोटोग्राफर महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा निवर्तमान सल्लाहकार समिति संयोजक ईश्वरी घिमिरे, निवर्तमान कार्यसमिति सदस्य सन्तकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


