चितवनको तुइन खोलामा ६० प्रतिशत पहिरो पन्छाइयो, रातिसम्म सडक सञ्चालन हुने सम्भावना

मुग्लिन – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेको पहिरो ६० प्रतिशतसम्म पन्छाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार, साँघुरो कार्यक्षेत्रका कारण एकैपटकमा दुवैतर्फबाट अधिकतम पाँचवटा मेसिन मात्रै प्रयोग गर्न सकिने भएकाले काममा ढिलाइ भएको हो ।

आज (बिहीबार) दिउँसो पौने ३ बजे डिभिजनले जारी गरेको सूचनामा भनिएको छ, “पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएकाले टायर पन्चर हुने, अपरेटर घाइते हुनेजस्ता समस्या आएका छन् । सोही कारण अपेक्षाअनुसार प्रगति हुन सकेको छैन ।”

यस्तो अवस्थालाई मध्यनजर गर्दै हेभी इक्विपमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट थप दुई जना अपरेटर परिचालन गरिएको डिभिजनले जनाएको छ । डिभिजनको भनाइअनुसार कुनै थप बाधा नआए निरन्तर काम गर्न सकिने खण्डमा आजै रातिसम्ममा पहिरो पूर्ण रूपमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने सम्भावना रहेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु