चितवन, भदौ ३१ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा सडक माथिबाट अचानक खसेको ढुंगाले बसमा सवार एक यात्रुको ज्यान लिएको छ।
शनिबार साँझ करिब ७ बजे तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुबाहक बसमा सवार लमजुङ घले गाउँपालिका–३ की ४६ वर्षीया ऐश्र्या कामीको मृत्यु भएको हो।
प्रहरीका अनुसार सडक माथिबाट अचानक खसेको ढुंगा बसको खुला ढोकाबाट सोझै भित्र छिरेर कामीको टाउको र अनुहारमा लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। तत्काल उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको भए पनि उपचारका क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बस चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेज कुमार शाहीलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक शिवशंकर ठाकुरले जानकारी दिएका छन्।
मृतकको छोरी पूर्ण कुमारी कामीसँग सम्पर्क भइसकेको प्रहरीले जनाएको छ। दुर्घटना स्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।–00–

