एससीओ शिखर सम्मेलनमा सहभागी हुन ओली चीन प्रस्थान

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका ओलीको यो प्रधानमन्त्री बनेपछिको दोस्रो चीन भ्रमण हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन गएका प्रधानमन्त्री ओली १८ भदौसम्म त्यहाँ रहनेछन्। भ्रमणका क्रममा उनले उत्तरी चीनको तियान्जिनमा १५ र १६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ। उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति सीले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहित उच्चस्तरीय प्रतिनिधि मण्डल पनि चीन गएका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, १७ भदौमा उनले तियान्जिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। साथै, उनले चीनका उपराष्ट्रपति हान झेङलगायत अन्य मुलुकका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको छ।

प्रधानमन्त्री ओली चीन बसाइको क्रममा जापानी आक्रमणविरुद्धको चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी विजयको ८० औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन्। –00–

Share:

सम्बन्धित समाचारहरु