काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन्। उनी तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्। प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत चीन जाने छन्। उनको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
ओलीले भदौ १४ देखि १८ गतेसम्म हुने आफ्नो पाँचदिने चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराइसकेका छन्। भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, रघुजी पन्त (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री), बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री), पूर्व मन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ देशका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइरहेका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्ने कार्यक्रम छ। भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा उनले सम्बोधन गर्नेछन्।
ओलीले शिखर सम्मेलनको साइडलाइनमा रूस, माल्दिभ्स, कम्बोडिया, लाओस, र भियतनामका सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटघाट तय भइसकेको बताए। नेपाल र ती मुलुकबीच द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताको विषयमा प्रधानमन्त्री ओलीले केही बोलेका छैनन्। भारत एससीओ सदस्य र नेपाल संवाद साझेदार भएकोले बैठकको लागि समय मिलाउने प्रयास भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने र भदौ १८ गते चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
एससीओ सन् २००१ मा काजाकिस्तान, चीन, किर्गिज, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थायी अन्तरसरकारी संगठनको रूपमा स्थापना गरेको हो। हाल एससीओमा भारत, इरान, काजाकिस्तान, चीन, किर्गिज, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन्। नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका १४ राष्ट्र ‘डायलग पार्टनर’ रहेका छन्।
प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।–00–


