गणेशधाममा दिनभर पूजाआजासहित गणेश चतुर्थी भव्यतापूर्वक मनाइँदै

रेशम सापकोटा – सेतो नेपाल
चितवन ११ भाद्र – भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थान स्थित ऐतिहासिक गणेशधाम आज गणेश चतुर्थी पर्वको अवसरमा दिनभर पूजाआजा र भक्तिभावले भरिएको छ।

बिहान सबेरैदेखि नै भक्तजनहरू भगवान श्री गणेशको दर्शन र आराधनाका लागि धायमान छन्। व्यक्तिगत रूपमा मन्दिरमा पूजा गर्ने क्रम सकिएपछि भक्तजनहरूले समूह बनाएर गुरु राखी सामूहिक पूजाआजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ। यसरी व्यक्तिगत र सामूहिक दुवै विधिबाट गरिएको पूजाआजाले मनोकामना पूरा हुने गहिरो विश्वासका साथ भक्तजनहरू आस्था प्रकट गरिरहेका छन्।

विघ्नहर्ता र सिद्धिदाता मानिने भगवान गणेशलाई आजको दिन दुबो, अक्षता, बेलपत्र, दूध, दही, घिउ, चामल, लड्डु, मोदक, नरिवल, केरा, सुन्तला, स्याउलगायतका फलफूल अर्पण गरिएको छ। शुभकार्यको प्रारम्भमा गणेशको आराधना अनिवार्य हुने धार्मिक परम्परा रहेको हुँदा विवाह, व्रतबन्ध, व्रत तथा अन्य संस्कारहरूमा समेत उहाँको विशेष पूजा गरिन्छ।

गणेशधाम क्षेत्र भित्र सिद्धी गणेश सहित यस क्षेत्र भित्र अवस्थित सरस्वती मन्दिर, कमलेश्वर मन्दिर, सन्तोषीमाताको मन्दिर, चण्डेश्वरी मन्दिर, मनकामना मन्दिर, पशुपति मन्दिर, विश्वकर्मा बाबाको मन्दिर, एग्रेसिभ गणेश–हनुमानको पूर्णकदको मूर्ति, पुराना बर–पिपलका ऐतिहासिक चौतारा,पुरानो इनार , सत्संग भवन, रोटरी भवन, भीमसेनगुठी र आकर्षक फूलबारीहरूले पनि धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप सुगन्धित दिएका छन्।

मन्दिर परिसर पूर्वपट्टि बहने पुण्यवती खोलामा गुरुयोजना अनुरूप तलाउ निर्माण कार्य भइरहेको छ, जसले यसलाई धार्मिक सँगसँगै पर्यटकीय दृष्टिले समेत अत्यन्तै महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचीत रहेको छ।

मंगलबार, शनिबार र मङ्गल चौथीका दिन विशेष भीड लाग्ने गणेशधाममा आज गणेश चतुर्थीका अवसरमा झनै ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिले क्षेत्र पूरै आध्यात्मिक माहोलले गुञ्जायमान भएको छ। भजन, शंख, धुप–दीप र घण्टाको ध्वनिले मन्दिर परिसर सुगन्धित बनेको छ ।

गणेशधाम संरक्षण सम्बर्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधामलाई धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँगै पर्यटनसँग जोड्ने गरी गुरुयोजना अघि बढाइएको बताउँदै यसले यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

Share:

सम्बन्धित समाचारहरु