रेशम सापकोटा – सेतो नेपाल –
चितवन, ३ भाद्र -ऐतिहासिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भरतपुर महानगरपालिका–११ गणेशस्थान स्थित गणेशधाम संरक्षण सम्बर्धन समितिको आयोजनामा धाम परिसरमा दोस्रो पण्डित–पुरोहित सम्मेलन आज सम्पन्न भएको छ।
गणेशधाम संरक्षण सम्बर्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण अधिकारी, चितवन पुरोहित समाजका अध्यक्ष वेदमणि रेग्मी, वैदिक सनातन हिन्दू धर्म समितिका अध्यक्ष उमाकान्त शर्मा लगायतका अतिथिहरूको उपस्थित रह्यो। कार्यक्रममा करिब ४० जना पण्डित–पुरोहितहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत तथा प्रकाश मन्तव्य समितिका द्वितीय उपाध्यक्ष रविन्द्र बरालले प्रस्तुत गर्नुभयो भने सञ्चालन महासचिव सन्तोष पन्तले गर्नुभएको थियो।

समितिका अध्यक्ष चुकेले सम्मेलनको उद्देश्यबारे बोल्दै हिन्दू संस्कारअनुसार गरिने विभिन्न कर्मकाण्डलाई एकरूपता दिने र चितवनलाई देवभूमि, तपोभूमि मानिएकाले यहाँका मठ–मन्दिरमा आउने भक्तजनलाई अन्य धार्मिक क्षेत्रबारे समेत जानकारी गराउने लक्ष्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
प्रमुख अतिथि नारायण अधिकारीले हिन्दू संस्कृतिको संरक्षण र पुरोहितबीच आपसी एकता तथा सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै यस किसिमका सम्मेलनले आगामी दिनमा धर्म, संस्कृति र समाजलाई अझ सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। पण्डितहरूको तर्फबाट बिमल गौतमले मन्तव्य राख्दै हिन्दू धर्मलाई सजिलो भनेर जसले जस्तोसुकै अभ्यास गरे पनि हुने भन्ने प्रचलनलाई हटाई, कर्मकाण्डमा एकरूपता ल्याउनु पर्नेमा जोड दिनुभयो। त्यस्तै खेमराज अधिकारीले पनि आफ्ना विचार राख्नुभएको थियो।

सोही अवसरमा चितवन पुरोहित समाजका अध्यक्ष वेदमणि रेग्मी र वैदिक सनातन हिन्दू धर्म समितिका अध्यक्ष उमाकान्त शर्माले पनि आफ्नो मन्तव्य राख्दै पण्डित–पुरोहितबीच अन्तरसम्बन्ध, एकता र साझा अभियान आवश्यक रहेको धारणा राख्नुभएको थियो।
गणेधाममा सम्पन्न दोस्रो पण्डित–पुरोहित सम्मेलनले हिन्दू संस्कृतिको संरक्षण, कर्मकाण्डमा एकरूपता र पुरोहितबीच आपसी सम्बन्ध सुदृढ गर्ने साझा सन्देश दिएको छ। यसले चितवनलाई धार्मिक र सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने संकेत गरेको छ। –00—

