आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब

काठमाडौं,  ३० साउन। आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो रकम १४ खर्ब ८ अर्ब ७६ करोड थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा सार्वजनिक विवरणअनुसार, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड, र वित्तीय व्यवस्थातर्फ ८७.८७ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब चार करोड रुपैयाँ खर्च भएको छ ।

गत वर्षको तुलनामा चालुतर्फ २.९४ प्रतिशत र पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च भएको छ । कुल खर्च वार्षिक लक्ष्यको ८१.८७ प्रतिशत रहेको महाशाखाले जनाएको छ ।

राजस्व संकलनतर्फ, आव २०८१/८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशतले वृद्धि हो । यसमा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले बढेको छ । वार्षिक लक्ष्यअनुसार कर राजस्व ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत पुगेको छ ।

व्यापार क्षेत्रमा, आव २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड र निर्यात दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । यस अवधिमा व्यापारघाटा १५ खर्ब २७ अर्ब नौ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ । –00–

Share:

सम्बन्धित समाचारहरु