नारायणगढ–मुग्लिन सडकमा माथिबाट ढुङ्गा खस्दा ट्रक चालकसहित तीन घाइते

चितवन, २९ साउन ।  नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ढुङ्गा खस्दा ट्रक चालकसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट (केए–४३६८५६) भएको ट्रकमा इच्छाकामना गाउँपालिका–३ स्थित पुल नजिकै सडकमाथिबाट ढुङ्गा खसेको हो।

घटनामा भारतीय नागरिक ४५ वर्षीय चालक मेगु प्रसाद, उनका १८ वर्षीय छोरा सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका छन्। चालक प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तीनै जनालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको छ। –0—

Share:

सम्बन्धित समाचारहरु