काठमाण्डौं, २९ साउन । पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुप्पो र खरानी खरिद गरेका थिए ।
घटनापछि मलामीले ‘घाटे ब्राह्मणले खुट्टाको मासु बेचेको’ भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा काभ्रेको मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनालीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरी अनुसन्धानमा ढकाल र मैनालीले जलिरहेको शवबाट कान्छी औंलाको सानो भाग र खरानी ४ सय रुपैयाँमा दिएको स्वीकार गरेका छन् । ती अंग माग्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको बताएका भए पनि कुन भगवानको पूजा गर्नका लागि मृत शरीरको अंग र खरानी आवश्यक पर्छ भन्नेबारे आफूहरूलाई थाहा नभएको समेत उनीहरूले बयान दिएका छन् । –00—


