धादिङ, असार ४
धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं लादैँ गरेको दुई ट्रक मल लुटिएको छ ।
आज (शनिबार) दिउँसो काठमाडौं लादैँ गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले जानकारी दिए ।
धुनिबेशी नगरपालिका–६ धार्केस्थित पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाडौं लगिरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए । एकैचोटि ४०० बढी स्थानीय आएपछि ट्रकसँगै आएको दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको वडाध्यक्ष रमेशप्रसाद आचार्यले जानकारी दिए ।
‘व्यापारीहरूले मल तराईबाट लिएर आएका रहेछ । राजस्वको टोलीले अनुसन्धान गर्नेक्रममा अवैध हो भन्ने भेटियो,’ उनले भने,‘टोलीले नियन्त्रणमा लिएर काठमाडौंतर्फ लग्दै गरेको धार्केका स्थानीयले सूचना पाए । अहिले किसानलाई मलको हाहाकार छ । यो मल हाम्रै खेतमा लगेर हाल्न पाइन्छ भन्ने उद्देश्यले जनताले नै नियन्त्रणमा लिए ।’
स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए । सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न सकेका थिएनन्। उनका अनुसार स्थानीयले त्यसरी लग्दै गर्दा खानीखोलाको प्रहरी आएपछि भने रोकिएको थियो ।
‘खानीखोलाबाट प्रहरी आएपछि गाडीलाई नियन्त्रणमा लिएर बाँकी भएको मललाई काठमाडौं लग्यो,’ उनले भने,‘५०–६० बोरा जति बाँकी होला । यहीँकै व्यापारीहरूले मगाएको भन्ने पनि छ । आधिकारिक थाहा भएन ।’
मलको अभाव भइरहेको हुँदा स्थानीयहरूले यस्तो गरेको हुनुपर्ने उनले बताए । १५ सयमा पाउँदै गरेको मल अहिले २२ सय तिर्नुपर्ने अवस्था भएको वडाध्यक्ष आचार्यले बताए ।
‘एक बोरा मल १५ सयमा पाइन्थ्यो । अहिले २२ सय बोरा बेच्छन् । त्यो पनि भारतबाट विभिन्न तरिकाबाट आउँछ,’ उनले भने,‘साल्ट ट्रेडिङले पनि १५–२० दिनमा २० बोरा, १५ बोरा दिन्छ । अरू व्यापारीहरूले अवैध तरिकाले ल्याएर बिक्री गर्छन्। २२ सय नै तिर्छु भन्दा पनि नपाइने अवस्था छ ।’
उनले थपे,‘व्यापारीहरूले नै सूचना चुहायो होला । अभावमा रहेको स्थानीयले थाहा पाएपछि हाल्न पाएहुन्थ्यो कि भन्ने भयो । प्रहरीले पनि नियन्त्रणमा लिने अवस्था भएन ।’