रेशम सापकोटा – सेतो नेपाल
चितवन, २३ साउन — माडी नगरपालिका–७, देवेन्द्रपुरस्थित दक्षिण सम्मेश्वर कालिका शनिधाममा शनिदेवको नयाँ प्रस्तर मूर्ति अनावरण गरिएको छ। भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्य र प्रभा आचार्यले आफ्ना दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा उक्त मूर्ति अनावरण गराउनु भएको हो।
सेतो मार्बलबाट निर्मित, करिब १ क्विन्टल तौल र ३.५ फिट उचाइको शनिदेवको मूर्ति शनिधाममा ल्याइएपछि स्थानीय बासिन्दा र श्रद्धालुहरूको सहभागितामा भव्य स्वागत गरिएको थियो। मूर्ति मन्दिर परिसरमा पुगी सकेपछि सामूहिक भजन–कीर्तन तथा वैदिक विधिअनुसार स्वस्तिवाचनसमेत सम्पन्न गरिएको थियो।

उक्त अवसरमा शनिदेवको मूर्ति बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति एवं प्रदेश सांसद ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो। मूर्ति निर्माणमा करिब १ लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी लीलाधर आचार्यले दिएका छन्।

अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति एवं प्रदेश सांसद ठाकुरप्रसाद ढकाल, विशिष्ट अतिथिका रूपमा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महत, उपमेयर खेमप्रसाद महत, जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी, प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष दण्डपानी पौडेल, वडा नं. ७ की अध्यक्ष चन्द्र कुमारी बानिया, वडा नं. ८ का अध्यक्ष वीरेन्द्रबहादुर भण्डारी, वैदिक सनातन सांस्कृतिक सम्पदा संघ माडीका अध्यक्ष मथुराबहादुर भण्डारी, वडा नं. ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिना परुइ, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काशी दत्त पोखरेल, साविक अयोध्यापुरी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठ, भरतपुर–१० स्याउलीबजार टोल विकास संस्था परिवार, देवेन्द्रपुर जगन्नाथपुर सम्पर्क मञ्च चितवनका उपाध्यक्ष हरि बहादुर रानाभाट लगायत अन्य सदस्यहरू, मन्दिर कार्य समिति सदस्य तथा स्व. रञ्जन आचार्यका आफन्तजनहरूको उपस्थिति रहेको थियो।

मूर्ति अनावरणपछि शनिधाम परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा उपस्थित सबै विशिष्ट अतिथिहरूले आ–आफ्नै हातले वृक्षारोपण गरेका थिए। स्व. रञ्जनका आफन्त वीरभद्र आचार्यले परिवारको तर्फबाट मन्तव्य राख्दै धार्मिक भावना र स्मृतिको संरक्षणका लागि यस्तो कार्य गरिएको जानकारी दिए। साथै, शनिधामको भावी विकासमा परिवार निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रम दक्षिण सम्मेश्वर कालिका शनिधामका अध्यक्ष सुदर्शन सुवेतीको सभापतित्वमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य लेखा समितिका संयोजक रमकान्त सापकोटाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दिवंगत रञ्जन आचार्यका आफन्त लीलाधर आचार्यले गर्नुभएको थियो।



–00–


