गुलरिया, २३ साउन । भारतको उत्तराखण्ड राज्यमा केही दिनअघि आएको आकस्मिक बाढीमा परी बर्दियाको मधुवन नगरपालिकाका एकै परिवारका तीनसहित पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरू मध्ये मधुवन नगरपालिका–६, गाउँ नं. ४ का अन्दाजी ३९ वर्षीय नरेन्द्र खड्का, उनकी पत्नी सरस्वती भण्डारी खड्का र दुई वर्षीय छोरा रोमन खड्का रहेका छन्। साथै, मधुवन नगरपालिका–५, गाउँ नं. ८ निवासी अमृता परियार (रामु परियारकी पत्नी) र गुलरिया नगरपालिका संगमवस्तीस्थित सुकुमबासी टोल बस्ने अन्दाजी २०/२१ वर्षीय सुवास परियार पनि बेपत्ता भएको मधुवन नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुङले जानकारी दिए।
बेपत्ता हुने सबै जना मजदुरीका लागि भारतको उत्तराखण्ड अन्तर्गत पौडी जिल्लाको बाँकुडा गाउँ गएका थिए। उनीहरू नयाँ वर्ष मनाएर सडक मजदुरको रूपमा त्यहाँ पुगेका थिए। मधुवन–५ का ठेकेदार चित्रबहादुर पौडेलमार्फत उनीहरू भारत पुगेका थिए।
प्रवक्ता गुरुङका अनुसार ठेकेदार पौडेलसँगको सम्पर्कमा प्रहरीले सो क्षेत्रमा बाढी आएकाले केही नेपाली घाइते भई स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी दिएको छ। स्थानीय प्रशासनसँग समन्वय गरी बेपत्ताको खोजतलास जारी रहेको छ।
मधुवन नगर प्रमुख तेजबहादुर भाटले घटना थाहा पाउनासाथ प्रहरीसहित पीडितका घर पुगेर वस्तुस्थिती बुझेका थिए। कतिपय परिवारका सदस्यहरू खोजतलासका लागि घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ।
नगरपालिकाले पीडितका परिवारलाई जनही २५ हजार रुपैयाँ क्रियाखर्च उपलब्ध गराउने तयारी गरेको प्रवक्ता गुरुङले बताए। –00–


