कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी मात्र सफल

काठमाडौं, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार यस वर्ष कक्षा १२ मा परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६१ दशमलव १७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने ३८ दशमलव ८३ प्रतिशत विद्यार्थी ननग्रेड अर्थात अनुत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षा पनि तय गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने छ।

परीक्षा बोर्डको क्यालेन्डर अनुसार कक्षा १२ को नतिजा १५ साउनभित्र सार्वजनिक हुनुपर्ने थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो।

गत ११ वैशाखदेखि हुने भनिएको परीक्षा पनि शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि मात्र सुरु भएको थियो। यसपटकको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

परीक्षाफल नेपाल टेलिकम, एनसेल र बोर्डको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु