चितवनको बाटुली पोखरीमा ४८४ वटा चराको गुँड गणना

चितवन,१८  साउन । भरतपुर महानगरपालिका–१३ मा पर्ने बाटुली सामुदायिक वनस्थित रमणीय बाटुली पोखरीमा यस वर्ष ४ सय ८४ वटा चराको गुँड फेला परेका छन्।

नेपाल पक्षीविद संघ (NOU) को प्राविधिक सहयोगमा मेघौली घडगाई नेचर गाइड एसोसिएसनले साउन १६ गते (३१ जुलाई २०२५) आयोजना गरेको गुँड गणनाकाे क्रममा ४ सय ८४ वटा गुँड फेला परेको हाे ।

 

गणना अभियानमा ३० जना नेचर गाइड तथा प्रकृतिप्रेमी सहभागी थिए।

समुद्र सतहबाट ३ सय १३ मिटर उचाइमा रहेको यो पोखरी बारन्डाभार जैविक मार्ग (Corridor) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्छ। सालबृक्ष (Shorea robusta) ले घेरिएको यस क्षेत्रलाई दुर्लभ प्रजातिका चराहरूको प्रजनन स्थलका रूपमा महत्वपूर्ण मानिन्छ।

गणनामा फेला परेका ४८४ गुँडमध्ये ४७८ गुँड एशियन ओपनबिल (Asian Openbill) प्रजातिका रहेका छन् भने २ गुँड ओरिएन्टल डार्टर (Oriental Darter) प्रजातिका हुन्।

बाँकी ४ गुँड खाली अवस्थामा भेटिएका छन्। एकैवटा सालको रूखमा १८ वटा गुँड देखिनु यसपटकको विशेष आकर्षण बन्यो। गुँडहरू पोखरीको पानी सतहभन्दा २.५ मिटरदेखि ३० मिटरको उचाइसम्म रहेका छन्।

गत वर्षको तुलनामा यस वर्ष गुँडको संख्या १७ प्रतिशतले वृद्धि भएको छ। सन् २०२४ मा यहाँ ४ सय १३ वटा गुँड भेटिएका थिए। यस वर्ष चितवन राष्ट्रिय निकुञ्जले पोखरी क्षेत्रमा डुङ्गा चलाउने र पिकनिक जस्ता मानव गतिविधि रोक लगाएकोले चरा प्रजननमा सकारात्मक प्रभाव परेको जनाइएको छ।

गुँड गणनामा चितवन राष्ट्रिय निकुञ्जका रेन्जर छत्र खड्का, वरिष्ठ गेम स्काउट रङ्ग बहादुर बस्नेत, गेम स्काउट ताशी लामा लगायतको उल्लेखनीय भूमिका रहेको थियो।

नेपाल पक्षीविद संघका अध्यक्ष हठन चौधरीले चराहरूको संरक्षणमा निकुञ्ज प्रशासन, बफर जोन समिति र स्थानीय समुदायको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि गुँड गणनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।—00–

 

Share:

सम्बन्धित समाचारहरु