भरतपुर १० पौष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको दोस्रो जिल्ला परिषद भेला बिहिवार प्याब्सन कार्यालय भरतपुरमा सम्पन्न भएको छ ।
दोस्रो जिल्ला परिषद भेलाको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, बागमती प्रदेशका अध्यक्ष मुरारीप्रसाद सञ्जेलले हाम्रा विद्यालयहरू रुपान्तरण गर्नको लागि हामी पनि समयअनुसार रुपान्तरित हुनुपर्नेमा जोड दिनुभयो।

संस्थागत विद्यालयहरुको एकताले प्याब्सन बलियो भएको स्मरण गर्दै प्रमुख अतिथि सञ्जेलले संस्थागत विद्यालयहरुमा सबैतिरबाट प्रहार भएकोले सामूहिक एकता नै आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारीले शैक्षिक विकासका विषयमा भरतपुर महानगरपालिका प्याब्सनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै समयको मागअनुसार शैक्षिक विकासका कामहरु अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको उद्घाटन समारोहमा प्याब्सन चितवनलगायत चितवनको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेका भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी,
नागरिक समाजका अगुवा केदार मल्ल, प्याब्सन भरतपुर महानगरका अध्यक्ष मीनराज बस्ताकोटी, प्याब्सन चितवनका पुर्व अध्यक्ष श्रीप्रसाद ढुङ्गाना , शैक्षिक व्यक्तित्व
केशवराज चालिसेलगायतलाई सम्मान गरिएको थियो ।

यसैगरी प्याब्सन चितवनको भवन निर्माण उप समितिमा रहेर निर्माण सम्पन्न गर्नेहरुलाई पनि उद्घाटन समारोहमा सम्मान गरिएको थियो ।
परिषद भेलाले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कक्षा ५ मा उपलब्धि मूल्याङ्कन परीक्षा सञ्चालन गर्नेलगायतका विभिन्न योजनाहरू पारित गरेको प्याव्सन चितवनका सचिव दयानिधि अर्यालले जानकारी दिनुभयो ।
प्याब्सन चितवनका अध्यक्ष मदन पुरीको अध्यक्षतामा सम्पन्न भएको परिषद् भेलामा प्याब्सनका प्राज्ञिक सल्लाहकार केशवकुमार श्रेष्ठ,प्याब्सन चितवनका निवर्तमान अध्यक्ष एवम् प्याब्सनका केन्द्रीय सदस्य टीकानिधि अर्याल, प्याब्सनका पुर्व केन्द्रिय सदस्य लेखनाथ खनाल, नागरिक अगुवा केदार मल्ल,शिक्षक अभिभावक संघ भरतपुर महानगरका अध्यक्ष भोजराज न्यौपाने , संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल इस्टु चितवनका अध्यक्ष दिवाकर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्याब्सन चितवनका वरिष्ठ उपाध्यक्ष टेकराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव दयानिधि अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।–00–


