रेशम सापकोटा – सेतो नेपाल
चितवन,१२ साउन -नेपालमै पहिलोपटक वन्यजन्तु आक्रमण र संरक्षणको क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आइतबार संरक्षण समर्पित स्मारक अनावरण गरिएको छ।
स्मारक चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको परिसरमा निर्माण गरिएको हो।
स्मारक २०५५ सालदेखि हालसम्म समितिका सदस्य तथा सदस्यका परिवार वन्यजन्तु आक्रमण र संरक्षण कार्यको क्रममा ज्यान गुमाएका ३२ जनाको स्मृतिमा निर्माण गरिएको हो।

स्मारकको अनावरण बागमती प्रदेशका वन तथा वातावरण
माननीय मन्त्री कृष्णप्रसाद सिलवाल, प्रदेशसभा सदस्य माननीय ठाकुरप्रसाद ढकाल, र माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

सो अवसरमा दिवंगत परिवारहरूलाई प्रति परिवार पाँच हजार रुपैयाँ राहत स्वरूप रकम प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री कृष्णप्रसाद सिलवालले स्मारकलाई समुदायले दिएको बलिदानको सम्मानस्वरूप उठाइएको ऐतिहासिक प्रतीकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “वन्यजन्तु आक्रमणबाट ज्यान गुमाउने नागरिकहरू संरक्षणका सच्चा सहिद हुन्।

यस्तो स्मारकले उनीहरूको योगदानलाई सधैं जीवित राख्नेछ।” उहाँले संरक्षण र मानव सुरक्षा बीच सन्तुलन आवश्यक रहेकोमा जोड दिनुभयो।
प्रदेशसभा सदस्य माननीय ठाकुरप्रसाद ढकालले स्मारकलाई संरक्षणभन्दा अघि मानव संवेदना र सामुदायिक पीडाको स्मरणका रूपमा व्याख्या गर्दै भन्नुभयो, “यी ३२ अनुहार केवल संख्या होइनन्, यी समुदायका आँसु, संघर्ष र निष्ठा हुन्। अब समय आएको छ, जब संरक्षण नीति कागज होइन, पीडाको अनुभवलाई सुन्ने ढंगबाट बन्नुपर्छ।”
मेयर ताराकाजी कुमारी महतले स्मारकलाई समुदायको साहस र सहनशीलताको सजीव प्रतिविम्बको रूपमा चित्रण गर्दै भन्नुभयो, “संरक्षण तब मात्र सफल हुन्छ, जब मानव सुरक्षा, सम्मान र सहभागिता पनि त्यसमा समेटिन्छ। यो स्मारक भावी पुस्तालाई संरक्षणसँगै मानवता बोक्ने संस्कार दिने अमूल्य प्रेरणा बन्नेछ।”
कार्यक्रममा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले भन्नुभयो, यो स्मारक हाम्रो सामूहिक पीडा र बलिदानको स्मरण हो — एक यस्तो प्रतिक, जसले संरक्षणमा ज्यान गुमाएकाहरूलाई सदैव सम्झाउनेछ। समिति सधैं जनताको हित, सुरक्षाको प्रत्याभूति र बन्यजन्तु–मानव सहअस्तित्वमा आधारित संरक्षण कार्यमा प्रतिबद्ध छ।
आगामी दिनमा मानव बस्तीमा बन्यजन्तुको प्रवेश रोक्न तारबार, प्रखाल, बिजुली बत्तीजस्ता सुरक्षाका मापदण्डहरू अझ व्यवस्थित ढंगले लागू गरिनेछ। हामी चाहन्छौँ, संरक्षणको नाममा अब कसैले पनि प्रियजन गुमाउन नपरोस्। सन्तुलित संरक्षण र मानव सुरक्षाबीचको जिम्मेवार समन्वयमा समिति सधैं जुटिरहनेछ।”

कार्यक्रममा माडी नगरपालिकाका प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, चितवन राष्ट्रिय निकुञ्जका वन संरक्षण अधिकृत डा. गणेश पन्त, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, नयाँ गोरख गणका गणपति शिवराम बस्नेत, वडा नं. ८ का अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषिराम सुवेदी, पूर्व अध्यक्षहरू, संरक्षणकर्मी,पत्रकार र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो।

जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो, भने अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकको सभापतित्व सम्पन्न भएको थियो ।
