काठमाण्डौं, ८ जेठ । कान्तिपुर मिडियागुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउगरे लगतै उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका छन् ।
कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताए ।
यसअघि सिरोहियालाई पक्राउ पूर्जी जारी भएको थाहा भएपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर मुख्यालय पुगेका थिए। कांग्रेस सांसदहरू रामहरि खतिवडा, पूर्वपराष्ट्रमन्त्री एनपी साउद, राजेश थापा, दीपक गिरी, कुसुम थापा, रामकृष्ण यादव, उद्योगी उपेन्द्र महतोलगायत कान्तिपुर मुख्यालय पुगेका थिए।
आजै संसदमा पनि कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले रिसबी साँध्नेगरी सिरोहियामाथि पक्राउ पूर्जी जारी गरेको बताएका थिए।
यसअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका थिए। राज्य शक्तिको दुरुपयोग गरेर कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित् पनि विचलित नहुने उनको भनाइ छ।–00–

