काठमाडौँ, २१ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको संसदीय दलको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका पार्टीका सांसद अरुण चौधरी भोलि प्रधानमन्त्री समक्ष राजीनामा दिने जानकारी दिइन्। श्रेष्ठका अनुसार पार्टी अब सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्नेछ।
सुदूरपश्चिम प्रदेशमा नाउपाबाट मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि उत्पन्न असन्तुष्टिको क्रम संघीय सरकारसम्म पुगेको हो। प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले शनिबार संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।
पार्टी नेतृत्वले सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै अब संसदमार्फत जनताको पक्षमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।


