कुवेत जान लागेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइयो

काठमाडौं,९ साउन ।  भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ।

दिल्ली विमानस्थलमा नेपाली दूतावासको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएर स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्‍याइएको हो। दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको नेतृत्वमा रहेको टोलीले सुनौली नाका हुँदै ती महिलाहरूलाई नेपाल ल्याई रूपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेले जानकारी दिए।

प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू कुवेत जान एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै प्रयत्नरत रहेको देखिएको छ। यसैबीच, गृहमन्त्री रमेश लेखकले घटनाको गम्भीरता बुझेका छन्। उनले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकलगायत गृह मन्त्रालयले वैदेशिक रोजगारीका नाममा भइरहेको अवैध गतिविधिमाथि कडा निगरानी राख्न र नेटवर्कमा संलग्न व्यक्तिहरू पहिचान गर्न पनि सुरक्ष निकायलाई सचेत गराएको छ।

सरकारले विदेशिने क्रममा आवश्यक कानुनी प्रक्रिया नपुर्‍याई अवैध रूपमा यात्रा गर्ने तथा गराउनेहरूमाथि शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट संकेत दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु