– रेशम सापकोटा, सेतो नेपाल
चितवन, ५ साउन। माडी नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा शुल्क लिइएको विषयमा गलत व्याख्या गरिएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताउनुभएको छ ।
शुल्क लिइएको विषयमा समाचार प्रकाशित भएसँगै विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा व्यापक चर्चा, उत्सुकता र चासो देखिएको थियो। त्यससँगै आएका प्रतिक्रियाप्रति दुःख व्यक्त गर्दै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले सेतो नेपालसँगको टेलिफोन संवादमा सबैलाई वस्तुस्थितिको सही बुझाइ गर्न आग्रह गर्नुभयो ।
भुसालका अनुसार धार्मिक पूजाआजा वा दर्शनका लागि आउने नागरिकहरूमाथि कुनै पनि शुल्क लगाइएको छैन। “हामीले पूजास्थलभित्र जाने, पूजा गर्ने, धार्मिक गतिविधिमा सहभागी हुने कामका लागि शुल्क लगाएका छैनौं,” उहाँले भन्नुभयो, – तर ती स्थलसम्म पुग्दा अवलोकन हुने ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय संरचनाहरूको व्यवस्थापन, सरसफाइ र संरक्षणका लागि मात्रै शुल्क लिइँदै आएको हो।”
उहाँका अनुसार, नगरपालिका क्षेत्रभित्रका प्रमुख स्थलहरूमा स्थानअनुसार फरक–फरक दरमा सरसफाइ तथा मनोरञ्जन शीर्षकमा शुल्क संकलन गरिँदै आएको छ। समेश्वर गढीमा स्थानीय बासिन्दाका लागि रु १०, स्वदेशी पर्यटकका लागि रु ५०, भारतीय नागरिकका लागि रु ८० र अन्य विदेशीका लागि रु १०० तोकिएको छ। त्यस्तै, चैते दशैंभन्दा नौ दिन अघिदेखि दशैंको दिनसम्म उक्त स्थल सबैका लागि निःशुल्क खुला गरिने जानकारी दिनुभयो।
पुष्पमदन स्मृति बाटिका, रेड हिल पार्क, वैकुण्ठ धाम, बाल्मिकी आश्रम र अयोध्या धामजस्ता स्थलहरूमा पनि दर छुट्टाछुट्टै तोकिएको छ। स्थानीय नागरिकका लागि न्यूनतम रु ५ देखि १० मात्र लाग्ने व्यवस्था छ भने स्वदेशीका लागि रु २५ देखि ५०, र विदेशी पर्यटकका लागि अधिकतम रु १०० सम्म तोकिएको छ। यद्यपि, बाल्मिकी आश्रम र अयोध्या धाममा मन्दिर क्षेत्रबाहेकका स्थानमा सीमा निर्धारण गरी शुल्कको विषयमा पछि स्थानीय धार्मिक समिति,समुदायसँग परामर्श गरेर मात्र निर्णय लिइने जानकारी उहाँले दिनुभयो। उहाँले थपे गर्दै भन्नुभयो, “पोशाक र प्रवचन मात्रले धार्मिकता देखिँदैन; मन र आत्मा धार्मिक हुनु जरुरी छ।”
वनभोज र समूह घुमघामका लागि छुट्टै व्यवस्था गरिएको छ। २० जनासम्मको समूहका लागि रु ३००, २१ देखि ४० जनासम्मका लागि रु ५०० र ४० जनाभन्दा बढी समूहका लागि रु १,००० शुल्क लाग्नेछ। फिल्म सुटिङ गर्नेलाई भने प्रतिदिन रु १०,००० तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसबीच केही रसिदहरूमा “प्रवेश शुल्क” उल्लेख भएको देखिएको विषयमा भुसालले त्यो प्राविधिक त्रुटिका कारण भएको जानकारी दिनुभयो। “हामीले रसिदमा ‘मनोरञ्जन शुल्क’ वा ‘सरसफाइ शुल्क’ लेखेका थियौं। तर केहीमा गल्तीले ‘प्रवेश शुल्क’ उल्लेख भएको रहेछ, जुन तुरुन्तै सच्याउने काम भइसकेको छ,” उहाँले जानकारी दिनुभयो।
शुल्क संकलनबाट प्राप्त रकम धार्मिक क्रियाकलाप, धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यवस्थापन, सरसफाइ, संरचना मर्मत र स्थानीय पूर्वाधार निर्माणमा खर्च गरिने स्पष्टता दिँदै उहाँले भन्नुभयो, “स्थानीय समुदायको दीर्घकालीन हित र समग्र विकासमा टेवा पुग्ने गरी नै यी शुल्कको उपयोग गरिन्छ।”
पार्किङ शुल्कका सन्दर्भमा पनि केही स्थानमा नगरपालिकाको स्वीकृति बिना शुल्क उठाइएको पाइएको जनाउँदै अबदेखि यस्ता सबै कार्यहरू नगरपालिका नियमनको दायरामा ल्याइने जानकारी दिइएको छ।
शुल्क उठाउने निर्णय सार्वजनिक भएपछि त्यसलाई लिएर आएका आलोचनालाई सम्बोधन गर्दै प्रशासकीय अधिकृत भुसालले आग्रह गर्नुभयो— “कृपया यो विषयलाई सकारात्मक दृष्टिले बुझिदिनुहोस्। मन्दिरभित्रको पूजा र धार्मिक अभ्यास निःशुल्क नै छ, तर यहाँसम्म आउने क्रममा अवलोकन गरिने पर्यटकीय र पुरातात्त्विक महत्वका संरचनाहरूको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो। त्यसका लागि आवश्यक न्यूनतम शुल्क लिइएको मात्र हो।”
उहाँले दोहोरो पक्ष बुझेर मात्रै समाचार प्रकाशित गरिदिन पनि सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभयो। “स्थानीय सरकारले कानूनतः त्यस्ता संरचना संरक्षण र व्यवस्थापनका लागि कर लिन सक्छ। हामीले यही कानुनी दायरा भित्र रहेर काम गरिरहेका छौं,” उहाँको भनाइ छ।
भुसालले आफू कार्यरत रहुन्जेल माडी नगरपालिकाको धार्मिक, पर्यटन र कृषि क्षेत्रको दीर्घकालीन सुधारका लागि दिगो योजना अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय पूर्वाधारमा लगानी बढाउँदै धार्मिक पर्यटन र कृषि क्षेत्रलाई सुदृढ बनाउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको छ। यस्तो प्रयासमा स्थानीय समुदाय, सरोकारवालाहरू र सम्पूर्ण नागरिकको सहकार्य, सहयोग र सकारात्मक भूमिका अपेक्षित रहेको स्पष्ट गर्दै उहाँले माडीको समुन्नत विकासका लागि सबै पक्षको साझा योगदान जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।–00–

