धनगढीमा भीषण आगलागी, आठ सटरमा क्षति

कैलाली,५ साउन ।  –

धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिक आइतबार राति भीषण आगलागी भएको छ।
स्थानीय विश्व प्रकाश कडेलले सञ्चालन गर्दै आएका हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेस्टुरेन्टका आठ वटा सटरमा आगलागीबाट ठूलो क्षति भएको छ।

राति १०:५० बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दमकल र सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रण:
आगलागीको खबर पाएपछि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नं. ३४ गण, धनगढी र गोदावरी नगरपालिकाका तीनवटा दमकल र स्थानीयवासीको सहयोगमा राति १२:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो।

भौतिक क्षति विवरण:

  • हेलेन ट्रेड सप्लायर्स अन्तर्गतका चार सटरभित्रका लुगा, कपडा र अन्य सामग्री पूर्ण रूपमा नष्ट

  • परिवर्तन इन्फेक्स अन्तर्गत तीन सटरमा आंशिक क्षति

  • सेन्टर पोइन्ट रेस्टुरेन्टमा पनि आंशिक क्षति पुगेको प्रहरीको भनाइ

अहिले क्षतिको मूल्याङ्कन र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु