-रेशम सापकोटा – सेतो नेपाल
चितवन, ५ साउन। चितवनको माडी नगरपालिका वडा नं। ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घागर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको उद्घाटन सम्पन्न भएको छ। मिति २०८२ साउन ४ गते आइतबार सम्पन्न समारोहमा चितवन क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री माननीय विक्रम पाण्डे प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा पूर्व सांसद रिना गुरुङ, माडी नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी, बैकुण्ठ धाम समिति, स्थानीय अगुवा, टोलवासी तथा फुलबारी आमा समूहको सक्रिय उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा मन्तव्य राख्दै माननीय पाण्डेले माडीको धार्मिक पर्यटन प्रवर्द्धन, कृषि उत्पादन वृद्धि र पूर्वाधार विकासतर्फको सार्थक यात्रा प्रारम्भ भएको उल्लेख गर्नुभयो। यस्ता परियोजनाले समग्र स्थानीय जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “धार्मिक र कृषिपरक विकासको संयोजनले माडीलाई नमुना नगर बनाउन सकिन्छ।”

बजेट विवरणअनुसार, बैकुण्ठ धाम प्रवेशद्वार निर्माणका लागि बागमती प्रदेश सरकारबाट रु १० लाख बजेट प्राप्त भएको थियो भने सिँचाइ आयोजना संघीय सरकारबाट प्राप्त रु १ करोडको बजेटमा सम्पन्न गरिएको हो। वैकुण्ठ धामका अध्यक्ष तथा स्थानीय अगुवा राजकुमार परियारका अनुसार, विगतमा सिँचाइ सुविधाको अभावका कारण सुक्खा क्षेत्रका रूपमा चिनिने चौकीडाँडा र बेलौती डाँडाका करिब २५ बिघा जमिन अब लाभान्वित हुनेछन्। “सिँचाइको पहुँचसँगै उत्पादन क्षमता वृद्धि भई किसानको जीवनस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ,”
कार्यक्रमकै क्रममा माननीय पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध टिमले अयोध्यामार्गको स्थलगत अवलोकन गर्दै फुलबारी आमा समूहद्वारा सञ्चालित सामाजिक कार्यहरूको प्रशंसा गर्नुभयो। समूहको उत्कृष्ट कार्यप्रति हर्ष व्यक्त गर्दै उहाँले व्यक्तिगत रूपमा रु १०,००० नगद सहयोग प्रदान गर्नुभएको थियो। साथै, माडी नगरपालिकाले फुलबारी आमा समूहलाई ‘उत्कृष्ट आमा समूह’ को रूपमा सम्मानित गरेकोमा बधाई पनि दिनुभयो।
“फुलबारी आमा समूह माडी नगरपालिकाकै उदाहरणीय समूह हो,” उहाँले भन्नुभयो, “सामाजिक रूपान्तरणमा यस्ता समूहहरूको अग्रणी भूमिका रहन्छ, जुन अत्यन्तै सराहनीय छ।” त्यस क्रममा टोलवासी र समूह प्रतिनिधिहरूसँग भेटघाट गर्दै उहाँले समृद्ध समाज निर्माणका लागि आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
फुलबारी आमा समूह तथा समग्र समुदायको तर्फबाट माननीय विक्रम पाण्डे र उहाँको टिमप्रति हार्दिक आभार व्यक्त गरिएको थियो । समूहले प्राप्त हौसलाले आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।–00–


