कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजीलाई जिम्मा दिने निर्णय

काठमाडौँ,२६ माघ । विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक तथा पाठ्यसामग्री छाप्ने एक मात्र सरकारी निकाय हो, जनक शिक्षा सामग्री केन्द्र । तर, छपाइ ढिलो गर्दा विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने गरेको छैन । नयाँ शैक्षिक सत्र सुरु हुन साढे दुई महिनाभन्दा कम समय रहेका बेला चालु शैक्षिक सत्रकै विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

त्यही कारण शिक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरेर भर्चुअल सामग्रीबाट अध्ययन–अध्यापन गराउन आग्रह गर्‍यो । ‘यो वर्ष जनक शिक्षाले पुस्तक उपलब्ध गराउन सकेन, आउँदो वर्ष पनि समयमै पुस्तक उपलब्ध गराउन सक्ने सुनिश्चितता देखिएन,’ शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘त्यसैले कक्षा १–५ को पुस्तक निजीलाई पनि छाप्न दिने निर्णय लिइएको हो ।’

 

चालु शैक्षिक सत्रमा पाठ्यपुस्तकको चरम अभाव देखिएपछि मन्त्रालयले आगामी वर्षका लागि निजी क्षेत्रलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको छ । जनक शिक्षाले समयमै पुस्तक छपाइ र बिक्रीवितरण गर्न नसकेपछि सरकारले निजी क्षेत्रलाई पनि कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्न जिम्मा दिने निर्णय गरेको हो । सरकारले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ । जनक शिक्षाले छापेको पुस्तक उसैको क्षेत्रीय कार्यालयबाट पालिकाको आवश्यकताअनुसार स्थानीय विक्रेतामार्फत वितरण गर्छ । निजी क्षेत्रले स्थानीय बिक्रेतामार्फत विद्यालयले पाठ्यपुस्तक खरिद गर्ने व्यवस्था मिलाउँछन् ।

जनक शिक्षाबाट पाठ्यपुस्तक छपाइ तथा वितरणमा ढिलाइ भएपछि सरकारले २०६४ सालबाट निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको थियो । पहिलो वर्ष पूर्वाञ्चल विकास क्षेत्रमा वितरण हुने पाठ्युपस्तक छाप्ने जिम्मा निजी क्षेत्रले पाएको छ । निजीलाई सुरुमा कक्षा १–५ को पाठ्यपुस्तक छाप्न दिइएको थियो । कक्षा १–३ मा सीमित गरिएको थियो । गत पुस २९ को निर्णयपछि निजी क्षेत्रले कक्षा १ देखि ५ सम्मकै पुस्तक छाप्न पाउने भएको छ । कक्षा १–५ को पुस्तक जनक शिक्षाले पनि छाप्नेछ ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु