काठमाडौं, २ साउन । काठमाडौंको ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहने भएको छ। साउन १ गतेदेखि यो समय तालिका लागू गरिएको हो।
२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहरा संविधान दिवसका अवसरमा पुनः निर्माणपछि आम नागरिकका लागि खुला गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निर्माण सुरु गरिएको धरहरा २०७८ साल वैशाख ११ गते ओलीकै हातबाट उद्घाटन गरिएको हो।
सहरी विकास मन्त्रालयका अनुसार धरहराबाट हालसम्म असार २४ गतेसम्म ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको छ। धरहरामा आउने पर्यटकका लागि पार्किङ शुल्क भने हटाइएको छ।
धरहरा चढ्न चाहनेले प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यद्यपि, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउनेछन्, जसअनुसार उनीहरूका लागि टिकट शुल्क १ सय रुपैयाँ मात्र हुनेछ।
त्यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकहरूका लागि टिकट शुल्क प्रतिव्यक्ति ५ सय रुपैयाँ तोकिएको छ भने सार्कबाहेक अन्य देशका पर्यटकहरूले प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ।–00–


